काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आगलागी हुँदासमेत दमकल समयमा नपुगेको भन्दै मेयर वालेन्द्र साह (बालेन) माथि आक्रोश पोख्नेहरू बढेका छन् । सामाजिक सञ्जालमा उनको चर्को विरोध हुन थालेको छ ।
उनले तीन वर्षअघि नै कुनै पनि ठाउँमा आगलागी भएको पाँच मिनेटभित्रै दमकल पुग्ने जानकारी दिएका थिए । उनी निकटको रुटिन अफ नेपाल बन्दमार्फत उनले यो जानकारी साझा गरेका थिए । बालेनले आफूले सामाजिक सञ्जालमा नदिने जानकारी रुटिन अफ नेपाल बन्दबाट दिँदै आएको बुझिन्छ ।
त्यतिमात्र होइन उनले ड्रोनबाट पानी फालेर भए पनि आगो निभाउने बताएका थिए । तर असोज १३ गते काठमाडौँ महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय नजिकै भीमसेनस्थानमा रहेको आगलागीपछि भने एकाएक आक्रोश बढेको बुझिन्छ ।
त्यो दिन बिहानै एक घरमा आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले दिएको जानकारीअनुसार बिहान करिब ४ बजे आगलागी शुरू भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको साथै काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाको दमकल भने ढिला पुगेको भन्दै स्थानीयले मेयर बालेनमाथि आक्रोश पोखेका थिए । त्यसकै असर भन्नुपर्छ अहिले सामाजिक सञ्जालमा बालेनप्रति आक्रोश बढेको छ ।
बालेनको आगो ननिभाउने रहस्यभित्र के छ ?
गत भदौ २४ गतेसम्म बालेनको क्रेज निकै नै बढी थियो । यदि प्रत्यक्ष कार्यकारीको निर्वाचन भयो भने बालेन अब मेयर हैन प्रधानमन्त्री बन्नुपर्छ भनेर माहोल बनाउने पनि उत्तिकै थिए ।
यदि यही संविधानअुनसार नै चुनाव भयो भने पनि ०८४ मा बालेनले नयाँ पार्टी बनाएर बहुमतप्राप्त पार्टी बनाउन सक्छन् भने अड्कल धेरैमा थियो ।
अचानक भदौ २३ गते जेन–जी पुस्ताको आन्दोलन भयो । आन्दोलनले मोड बदल्यो । जेन–जीहरू संसद भवनभित्र पसेर आगो लगाउन थाले । प्रहरीले अन्धाधुन्ध गोली चलायो । त्यही दिन नै १९ जेन–जीको ज्यान गयो ।
२३ गतेको त्यो आक्रोशले २४ गते जेन–जीहरू थप उत्तेजित भए । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका प्रमुख कार्यालय सबै जलाइयो ।
प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरू, गभर्नर, उद्योगी व्यवसायीका घर र सम्पत्ति छानीछानी जलाइयो ।
सिंहदरबार जलिरहँदा पनि बालेनको दमकलले काम गरेन । बालेनले सार्वजनिक सम्पत्ति जलिरहँदा यो त देशकै सम्पत्ति हो भनेर अगाडि गएको भए सम्भवतः कसैले जलाउने आँट गर्ने थिएनन् भन्ने बुझाइ धेरैको छ ।
त्यत्रो मुलुक जल्दा बालेनको दमकल कतै देखिएन ।
बालेनले सामाजिक सञ्जालमा लेख्नसमेत छाडे । यता जेन–जीहरूले बालेनलाई अन्तरिम प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा फोरम चलाए ।
उनी बेपत्ता जस्तै भए । बालेन सम्पर्कमा आउन नचाहेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेन–जीले अगाडि सारे ।
कार्की प्रधानमन्त्री छिन् । उनको नेतृत्वमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुनेछ ।
पाँच महिना पनि बाँकी नभएको अवस्थामा बालेनले नयाँ पार्टी गठन गरेर चुनावमा होमिने सम्भावना उत्तिकै छ । यसको तयारी तीव्र गतिमा भइरहेको दाबीसमेत गरिएको छ ।
बालेन अहिलेसम्म बोलेका छैनन् । न त उनीविरुद्धको आक्रोशबारे केही लेखेकै छन् ।
उनले आफूलाई कुनै महसुस हुनासाथ सामाजिक सञ्जालमा लेखिहाल्थे । जोसँग पनि पंगा लिने उनी न त प्रधानमन्त्रीलाई छाड्थे न त सर्वोच्च अदालतलाई नै ।
रीसको झ्वाँकमा उनले सिंहदरबारमा आगो लगाउँछुसमेत भन्न भ्याएका थिए माओवादी केन्द्रका पूर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आगो लाग्यो । ओलीसँग उनको शुरुआती चरणदेखि नै सम्बन्ध राम्रो हुन सकेन ।
नभन्दै सिंहदरबारमा तीन चार दिनसम्म लागेको आगो निभाउन बालेनले दमकल पठाएनन् । उनले दमकल नपठाउनुभित्रको रहस्य खुल्दै जाला ।
सर्वोच्च र सिंहदरबारमा लागेको आगो ढिला गरी निभाउन स्थिति साम्य भएपछि ललितपुरबाट दमकल झिकाइएको थियो ।
सामाजिक सञ्जालमा जे पनि गर्न सक्छु भन्ने तर केही नगर्ने बालेनको चाला देखेर अहिले सामाजिक सञ्जालभर ब्यापक आलोचना भएको छ ।
यसले बालेन कुनै न कुनै बिन्दूमा हावादारी छन् भनी प्रमाणित भएकोसमेत सामाजिक सञ्जालमा प्रतिक्रिया आएका छन् ।
विपद्को काम भनेको पूर्व तयारी, तत्परता र एक्सनमा देखिनु पर्यो भनी लेख्ने पनि छन् । जसरी काठमाडौँको ‘कोर’ क्षेत्रकाले उनलाई अपनाएका थिए त्यसरी नै नेवार क्षेत्रको ‘को’र क्षेत्रमै आगलागी हुँदासमेत कुनै वास्ता नगर्नुले देशभर उनीविरुद्ध माहोल बनिरहेको त हैन भन्ने पनि देखिएको छ ।
सिंहदरबार जल्न थालेको तीनमा सामाजिक सञ्जालमा राजन बस्नेत लेख्छन्, ‘सामाजिक सञ्जालमा लेखेर मात्र देश चल्छ ? जल्दो चाहिँ रहेछ । यो परियोजना अहिलेसम्म पूरा नभएको हो र ? तीन दिनसम्म पनि एउटा दमकल पनि पुग्न सकेन ?’
असोज १३ गतेको आगलागी र महानगरले खेपेको आरोप
असोज १३ गते भीमसेनस्थानमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाको दमकम ढिला पुगेको भन्ने आरोप छ ।
जुद्ध बारुण यन्त्र रहेको स्थानबाट मुस्किलले पाँच सय मिटरको दूरीमा भएको घटनामा दमकल किन नपुगेको होला भन्ने जिज्ञासा धेरैमा छ ।
काठमाडौँ महानगरपालिकाको मातहतमा ८–१० ओटा दमकल छन् । काम गर्ने दमकल भने पाँच ओटा छन् ।
महानगरपालिकाका विपद् व्यवस्थापन विभाग महाशाखा प्रमुख नगर प्रहरी उपरीक्षक विष्णु जोशी भन्छन्, ‘छन त धेरै छन् ८–१० ओटै छन् काम गर्ने पाँच ओटा छन् ।’
पछिल्लो समय आएको गुनासोलाई उनी सुनियोजित भन्छन्, ‘त्यो गुनासो सुनियोजित हो हेर्नुस् । त्यो गुनासो सुनियोजित हो कसैको निर्देशनमा । हामीलाई खबर आएको २–३ मिनेटभित्र नजिकको लोकेशनमा पुगिसक्छौँ । बाँकी बाटोको अवस्था हेरेर हुन्छ । हामी त्यत्तिको कामका लागि नै स्टयान्डबाइ बसेका हुन्छौँ । ढिलो गर्ने कुरै छैन नि ।’
उनले भनेजस्तै यो सुनियोजित नै होस् तर यसमा मेयर बालेनको भूमिका पनि हुन्छ कि !