विद्युत् प्रणालीलाई भरपर्दो बनाउन ऊर्जामन्त्री घिसिङको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1.1k
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागबाट विद्युत् आपूर्तिमा समस्या आएको गुनासो आएपछि विद्युत् प्रणालीलाई भरपर्दो, गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री बनाउनका लागि सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले काठमाडौँको स्युचाटारस्थित विद्युत केन्द्रको अनुगमन गर्दै विद्युत् आपूर्तिमा देखिएका समस्याको समाधानका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमसहित अघि बढ्न निर्देशन दिए।
मन्त्री घिसिङले बाढी, पहिरोले क्षति पुर्याएका संरचनाहरूको तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले विद्युत् गृहहरूको पूर्ण उपयोग गरी प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी र हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन निर्देशन दिए। आगामी हिउँदयामको विद्युत् व्यवस्थापन गर्नेगरी योजनाबद्ध रूपमा नीति तथा कार्यक्रम ल्याउन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्याबारे जानकारी गराउँदै चुस्तदुरुस्त विद्युत् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालु गराउन प्राविधिक जनशक्तिसहितको टोली तयारी अवस्थामा राखेको र मितव्ययी भई स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै आमजनता एवं सेवाग्राहीको समस्या समाधान गर्न प्राधिकरण परिवार प्रतिबद्ध रहेको स्पष्ट गरे।