कोशी प्रदेश सरकारद्वारा हवाई मार्गबाट इलाममा राहत वितरण तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
869
Shares
विराटनगर । लगातारको वर्षाका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यम प्रयोग गरेर पहिलो चरणको राहत सामग्री पठाउँदै उद्धार अभियानलाई तीव्रता दिएको छ। स्थलमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्रीहरू बिहानै इलामका प्रभावित क्षेत्रहरूमा पुर्याएको हो।
मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्रीको व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार, बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएकाले राहत पुर्याउन हवाई मार्ग नै एकमात्र विकल्प थियो। उहाँले भन्नुभयो, "अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ।" पठाइएका सामग्रीहरूमा चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल लगायतका अत्यावश्यक वस्तुहरू समावेश छन्।
असोज १७ र १८ गतेको अविरल वर्षापछिको बाढी–पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुम लगायतका स्थानीय तहमा ठूलो क्षति पुर्याएको थियो। बाढीपहिरोका कारण इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन्।
प्रदेश सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै पीडित परिवारलाई तत्काल राहतका साथै दीर्घकालीन पुनःस्थापनाका लागि योजना बनाउने तयारी गरेको मुख्यमन्त्री कार्कीले बताए।