arrow

बीपी राजमार्ग पुनः क्षतविक्षत, बाढीले चार किलोमिटर सडक बगायो, यातायात सम्पर्क विच्छेद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
bp-highways.jpg

काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने एक मात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडक मार्ग बीपी राजमार्ग गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीपहिरोले पुनः थिलथिलो बनेको छ। राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ।

बीपी राजमार्गको निर्माण जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबाससम्म १६० किलोमिटर लामो बनेको हो। यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोडेर मुग्लिन–नारायणगढको झन्झट अन्त्य गरेको थियो। तर, भूकम्प र त्यसपछिका बाढीपहिरोका कारण यो सडक बारम्बार क्षतिग्रस्त बन्दै आएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमनअनुसार, पछिल्लो बाढीले करिब चार किलोमिटर सडक बगाएको छ। विशेषगरी रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको छ। कार्यालयका इन्जिनियर विन्दु अधिकारीका अनुसार रोशी खोलाले यस सडकखण्डको १७ स्थानमा क्षति पुर्‍याएको छ र चौकीडाँडा, बोक्सेकुना, माम्ती लगायतका स्थानमा सडकको नामोनिसानै मेटिएको छ। यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अवस्था आएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले पुनः अस्थायी डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने काम थालेको छ। हिजो (सोमबार) देखि नै काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ। रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउने प्रयास भइरहेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त भएको २९ किलोमिटर सडकखण्डलाई दुई वर्षभित्र स्थायी पुनर्निर्माण गर्ने योजना अघि बढाइएको छ। क्षतिग्रस्त राजमार्गको पाँच किलोमिटर सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने छ। स्थायी पुनर्निर्माण गर्दा राजमार्गलाई दुई लेन (७ मिटर चौडाइको कालोपत्रे) बनाउने र रोशी खोलामा बाढी आउँदा पनि नखोलिने गरी आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ।

बीपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रूपमा क्षमताभन्दा बढी भार बोक्ने टिपरहरू रहेका छन्। जाइकाको प्राविधिक अध्ययनले १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालनमा रोक लगाए पनि व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका टिपरहरू निर्वाध रूपमा सञ्चालन गर्दै आइरहेका छन्। दैनिक छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन हुनुले राजमार्गको संरचना जोखिममा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

हाल दैनिक करिब तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा चाप झनै बढ्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ