'छिनछिनमा बत्ती जाने' समस्या हटाउन मन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1.2k
Shares
काठमाडौँ। नेपाल विद्युत प्राधिकरण (नेपाल इलेक्ट्रिसिटी अथोरिटी) ले चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले दिएको जानकारीअनुसार, देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको छ। यो बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा र द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ।
सिलवालले भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट बिजुली निर्यात भइरहेको बताए। भारतसँगको व्यापार भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले दुवै मुद्रामा आम्दानी गरिरहेको छ। प्राधिकरणले हाल भारत र बंगलादेश गरी कुल ११६५ मेगावाट बिजुली निर्यातको स्वीकृति पाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले 'छिनछिनमा बत्ती जाने' समस्या तत्काल हटाउन निर्देशन दिएका छन्। घिसिङले सोमबार साँझ नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको अनुगमन गरेका थिए।
मन्त्री घिसिङले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल बिजुली सेवा चालू गराउनुपर्ने बताए। साथै, छिनछिनमा बत्ती जाने गुनासोलाई तत्काल सम्बोधन गर्न उच्च प्राथमिकता दिन र सोहीअनुसार मातहतका कार्यालयहरूलाई तयारी अवस्थामा राख्न उनले आग्रह गरे।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, बिजुली आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन, र आगामी हिउँदयामको बिजुली व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे। कार्यकारी निर्देशक सिलवालले बाढीपहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी बिजुली सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी काम भइरहेको बताएका छन्।