arrow

बाढीपहिरोको वितण्डा

बाढीपहिरो पीडितलाई 'तत्काल राहत': मृतकका परिवारलाई दुई लाख, आवासका लागि ५० हजार [भिडियो]

राहत रकम तत्काल उपलब्ध गराउन गृह मन्त्रालयमार्फत निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
rahat-sarkar.jpg

काठमाडौँ । सरकारले बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मौजूदा मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दिएको जानकारीअनुसार, बैठकले मापदण्डअनुरूप मृतक र बेपत्ताका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। राहत रकम तत्काल उपलब्ध गराउन गृहमन्त्रालयमार्फत निर्देशन दिइएको छ।

अस्थायी आवास निर्माणका लागि विस्थापित परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय भएको छ। यसमध्ये घर भत्किएका पीडितले तत्काल २५ हजार रुपैयाँ पाउनेछन् र बाँकी २५ हजार रुपैयाँ घरको संरचना निर्माण गरेपछि उपलब्ध गराइनेछ। दीर्घकालीन रूपमा स्थायी आवास निर्माणका लागि भने क्षेत्रअनुसार रकम निर्धारण गरिएको छ: हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

बैठकले विपद्बाट अवरुद्ध भएका सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीनै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ। सडक, खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू तत्काल सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई जिम्मा दिइएको छ भने उक्त कार्यमा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्नेछ।

विपद्पछि महामारीको सम्भावना समेत देखिएकोले स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानीय सरकारका स्वास्थ्य संस्थाले संयुक्त पहल गरेर शतर्कता अपनाउने निर्णय गरिएको भट्टले बताए। बैठकले विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ