काभ्रेपलाञ्चोकमा बाढीपहिरो: चार गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
887
Shares
काभ्रेपलाञ्चोक। गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षा र बाढीपहिरोले काभ्रेपलाञ्चोक जिल्लाका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन्। यी गाउँपालिकाहरूमा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा पनि ठप्प भएको छ भने सडक बन्द हुँदा आवतजावतका लागि यात्रुहरूले केही दिन पर्खनुपर्ने बाध्यता रहेको छ।
जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन्। बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का खानीखोला र महाभारत गाउँपालिका जाने सडकहरू पूर्णरुपमा बन्द भएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले यी क्षेत्रका सडक खुल्न हप्ता दिनसम्म लाग्न सक्ने बताएका छन्।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट पालिका विच्छेद भएको बताए। गाउँपालिका कार्यालय जाने मुख्य सडक र विभिन्न वडामा जाने सबै सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले भने, "यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौँ।" महाभारत जाने बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध भएका छन्।
यस्तै, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पनि सबै सडक अवरुद्ध भएकाले मर्मत गरी सडक खुलाउन केही समय लाग्ने बताए। सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग गरिएको भए पनि इन्धन व्यवस्थापनमा समस्या भएको उनले जानकारी दिए। यद्यपि, एक–दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको उनले बताए।
रोशी गाउँपालिकामा बिपी राजमार्गअन्तर्गतका अस्थायी डाइभर्सनहरू कटान भएपछि विभिन्न वडा जाने सडक अवरुद्ध भएको छ। अध्यक्ष दिनेश लामाले चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने बताए। रोशीमा विद्युत् सेवा आंशिक रुपमा अवरुद्ध भएकाले पूर्णरुपमा सेवा नियमित गर्न लागिएको छ।
यसैगरी, बेथानचोक गाउँपालिकामा अवरुद्ध सडक खुलाउन आइतबारदेखि नै जनप्रतिनिधिहरू सक्रिय भएका छन्। गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन प्राथमिकता दिइएको र आवश्यक मेसिनहरू प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताए।
जिल्लामा बाढीपहिरोले दुई जनाको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ।