arrow

भियतनामसँगको खेलका लागि नेपाली टोली तयार: जित्न कठिन भए पनि शतप्रतिशत दिने उपकप्तानको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
nepal-football-team-082.jpg

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामसँग हुने खेल सहज नभए पनि टोलीले राम्रो तयारी गरेको बताएका छन्। नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्दैछ।

छनोट खेलमा जानुअघि भएको पत्रकार सम्मेलनमा उपकप्तान चन्दले भियतनामविरुद्ध खेलका लागि राम्रो प्रशिक्षण गरेको बताए। उनले आसिएन रिजनमा भियतनाम निकै बलियो टोली रहेको र उनीहरूसँग खेल्न सहज नहुने बुझाइ व्यक्त गरे। यद्यपि, प्रतिद्वन्द्वीको रणनीतिअनुसार आफ्नो टोलीले पनि तयारी गरिरहेको र मैदानमा शतप्रतिशत प्रदर्शन दिने उनको विश्वास छ।

रोहित चन्दले होम म्याच कुनै पनि टोलीका लागि फाइदाजनक हुने तर अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न अयोग्य ठहरिएकाले नेपालले यो अवसर गुमाउँदै आएको बताएका छन्। उनले कुनै पनि सरकारले नेपाली खेलकुदलाई प्राथमिकतामा नराख्दा अहिले अन्तर्राष्ट्रिय फुटबल रंगशालाको अभाव भोग्नु परेको उल्लेख गर्दै अब आउने सरकारले व्यवस्थित रंगशाला बनाउने आशा व्यक्त गरे।

नेपाली टोलीको मुख्य समस्या गोल निस्कन कठिन हुनु रहेको रोहितले स्वीकारेका छन्। यसको प्रमुख कारणमध्ये नियमित रूपमा घरेलु लिग नहुनु पनि रहेको उनको बुझाइ छ। लिग नहुँदा खेलाडीको फिटनेसमा समस्या आउनुका साथै आर्थिक अवस्थामा पनि असर पर्ने गरेको उनले बताए। यद्यपि, प्रशिक्षकले यस समस्यामा काम गरिरहेको र समग्रमा प्रशिक्षण राम्रै भएकाले भियतनामसँगको खेलमा सुखद प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि भियतनामसँगको खेलका लागि राम्रो तयारी गरेको र त्यो खेलबाट अंक प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। उनले टोलीलाई हरेक अवस्थाका लागि तयार गराएको र बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहेको बताएका छन्। उनले घरेलु लिग नहुँदा केही सम्भावना बोकेका खेलाडीबारे बुझ्न नपाएको बताए पनि यसले प्रदर्शनमा असर नपर्ने विश्वास व्यक्त गरे।

मुख्य प्रशिक्षक रसले १२ दिनको बन्द प्रशिक्षणबाट २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन्। पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रहेका ६ खेलाडीलाई बाहिर राख्दै उनले सोही संख्यामा नयाँ खेलाडीलाई पुनरागमन गराएका छन्। टोलीमा गोलकिपर विशाल सुनार, डिफेन्डरत्रय विमल पाण्डे, सनिस श्रेष्ठ र सुमित श्रेष्ठ, साथै अट्याकिङ मिडफिल्डरद्वय कृतीशरत्न छुन्जु र आयुष घलानले पुनरागमन गरेका छन्। यी ६ खेलाडी एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओससँगको खेलमा नेपाली टोलीमा थिए।


छनोटमा दुई खेल सकिँदा समूह 'एफ' को नेपाल पुछारमा छ। नेपालले लाओस र मलेसियासँग हार बेहोरिसकेको छ। यद्यपि, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फर्जी कागज पेस गरेको भन्दै मलेसिया फुटबल संघमाथि कारबाही गरेकाले नेपालले मलेसियासँगको खेलमा तीन अंक पाउने सम्भावना पनि छ। समूहको शीर्ष स्थानको टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औँ संस्करणमा स्थान बनाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ