भैरहवाबाट नेपाल एयरलाइन्सको उद्धार उडानमार्फत सयौँ यात्रु आइपुगे काठमाडौँ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
992
Shares
काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, भैरहवामा अलपत्र परेका सयौँ यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत सुरक्षित रूपमा काठमाडौँ आइपुगेका छन्।
असोज १७ र १८ गतेदेखि परेको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा सडक र हवाई यातायातमा ठूलो अवरोध भएको थियो। सामान्य अवस्थामा दैनिक १५ भन्दा बढी उडान हुने भैरहवा विमानस्थलमा दुई दिनसम्म उडान पूर्ण रूपमा ठप्प हुँदा ७०० भन्दा बढी दशैँ बिदा र विभिन्न कामले पुगेका यात्रुहरू अलपत्र परेका थिए। बाढीपहिरोको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा सरकारले उद्धार कार्यमा तत्परता देखाएको थियो।
गृह मन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गर्दै स्थानीय तह र यातायात व्यवसायीहरूसँग समन्वय गरी अलपत्र यात्रुहरूलाई सहयोग गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिएको जानकारीअनुसार नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमान दिउँसो ३:४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण भएको थियो। उक्त विमानले काठमाडौँबाट ७६ जना यात्रु लिएर गएको र भैरहवाबाट १५७ जना अलपत्र यात्रु बोकेर राति काठमाडौँ फर्किएको छ।
प्रवक्ता शाहले सरकारले उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिएको बताए। उद्धार उडानका लागि भाडादर पनि सामान्यभन्दा कम तोकिएको थियो। जसअनुसार काठमाडौँबाट भैरहवाका लागि रु. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रु. ७,००० कायम गरिएको थियो।
भैरहवाबाट काठमाडौँ आउनुभएका एक यात्रुले सरकारको यो कार्य 'अत्यन्त प्रशंसनीय' भएको र 'सरकार जनतासँगै छ भन्ने अनुभूति' भएको भन्दै खुशी व्यक्त गरे।