arrow

कोशी विपत्तिको मारमा पर्दा काठमाडौँमा के गर्दैछन् मुख्यमन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
hikmat-karki-koshi-cm-81-6-1.jpg

विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेषगरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन् ।

प्रदेशभर हालसम्म पाँच हजार नौ सय २५ घरका २६ हजार नौ सय ८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।

यसैबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मतकुमार कार्की विपत्ति निम्तिँदा काठमाडौँमै रहेका थिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार जहाज नचल्दा मुख्यमन्त्री फर्कन नसकेको बताए ।

भण्डारीले भने, ‘मुख्यमन्त्रीकै निर्देशनअनुसार हामी कार्यरत छौँ । जनप्रतिनिधि जनताकै बीचमा छन् र राहत कार्य तीव्र रूपमा भइरहेको छ ।’

उनका अनुसार कोशी प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाइसकेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी उद्धार र राहत कार्य सञ्चालन भइरहेको उनले जनाए ।

भण्डारीले थपे, ‘हाम्रो मन्त्रालयले सबै १४ जिल्लाका विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै काम गरिरहेको छ । अप्रत्याशित क्षति भए पनि जोखिम क्षेत्रमै केन्द्रित भएर प्रतिकार्य अघि बढाएका छौँ ।’

उनका अनुसार पीडितको विस्तृत विवरण प्राप्त भएपछि राहत वितरण र पुनःस्थापनाका कार्य शुरू गरिनेछ र मन्त्रालयका कर्मचारीलाई माग अनुसार सामग्री पठाउने तयारी अवस्थामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ