arrow

बाढीले डुबायो सर्लाहीका १६ सय भन्दा बढी घरधुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
flood-badhi-sarlahi.jpg

सर्लाही । अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण एक हजार छ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीका कारण एक हजार छ सय १९ घर प्रभावित भएका छन् । 

बागमती नदीको बाढीले बलरा नगरपालिका वडा नं ३ लक्ष्मीपुरका सात सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब एक सय ५० घरमा पानी पसेको छ ।

लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका वडा नं ५ भाडसरका करिब दुई सय घर डुबानमा परेका छन् । 

यसैगरी कौडेना गाउँपालिका वडा नं ७ शिवनगरमा तीन सय ५० देखि चार सय घर प्रभावित भएको प्रहरीले जनाएको छ ।

चक्रघट्टा गाउँपालिका वडा नं ५ पडरियामा पनि बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्णरूपमा भत्किएका छन् ।

यता, हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पस्न पुगेको छ ।

बरहथवा नगरपालिका वडा नं ७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन् ।

यस्तै, कौडेना गाउँपालिका वडा नं ३ र ५ मा लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेका छन् भने कविलासी नगरपालिका वडा नं ८ अगर्वामा झिम खोलाले १४ घर प्रभावित बनाएको छ । गोडैता नगरपालिकामा समेत कयौँ घरमा पानि पसेको छ ।

प्रहरीका अनुसार हालसम्म ठूलो जनधनको क्षति नभए पनि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ । 

कौडेना गाउँपालिका वडा नं ३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवासँगको सम्बन्धविच्छेद भएको छ ।

बाढीले राजमार्गको करिब एक सय ५० मिटर पक्की सडक बगाएपछि स्थानीयलाई सदरमुकामसम्म आउजाउ गर्न लामो वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने अवस्था आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ