arrow

बाढी पहिरोबाट देशभर कम्तीमा ४६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
ilam-landslide-82-6-19.jpg

काठमाडौँ । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
 
विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै ३४ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । 

अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।
 
पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिइन् ।
 
विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा  एक–एक जना बेपत्ता भएका छन् । 
 
 यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । 

खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ