arrow

डुब्यो वीरगञ्जः मानिस घरमै थुनिन बाध्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
birgang-bazar-duban.jpg

वीरगञ्ज । अविरल वर्षाका कारण वीरगञ्ज शहर पोखरीमा परिणत भएको छ । प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ ।

वीरगञ्जको गोशवारा रोड, माईस्थान, आदर्शनगरलगायतका स्थानमा नालाबाट पानीको निकास नहुँदा सडकमा घुँडासम्म पानी जमेको छ । 

स्थानीयवासीका अनुसार घर, पसल र होटलमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

उनका अनुसार हालसम्म कुनै मानवीय वा अन्य भौतिक क्षतिको रिपोर्ट प्राप्त नभएको बताइएको छ ।

यसैगरी ग्रामीण भेगका धेरै गाउँहरू जलमग्न बनेका छन् । बाढीका कारण सडक यातायात अवरुद्ध भएको र शहरका अधिकांश पसल बन्द रहँदा बजार सुनसान देखिएको छ । दैनिक क्रियाकलाप प्रभावित भएका छन् भने नागरिक घरमै थुनिन बाध्य भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो सूचना अनुसार अगामी तीन दिनसम्म पनि वर्षा जारी रहने सम्भावना रहेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनसम्म सतर्क रहन वीरगन्ज र आसपासका नागरिकहरूलाई अनुरोध गरेको छ । 

प्रशासनले नदी, खोल्सा र डुबान हुने क्षेत्र नजिक नजान र आवश्यक परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले आपतकालीन सहयोगका लागि हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ ।

महानगरले उद्धारका लागि टोली तयार राखिएको र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ