arrow

पहिरोले बेनी–दरवाङ सडकमा यातायात प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
darwang-road.jpg

म्याग्दी। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ।

विसं २०६० अघि मार्ग खुलेको बेनी–दरवाङ सडकको यो खण्ड हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्याले ग्रस्त छ। करिब २४ किलोमिटरको यो सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दालाई पनि समस्या हुने गरेको छ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरका चक्रलाल पाण्डे (राजु) ले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा ठूलो समस्या भएको बताए। पहिरो खस्ने खतराले गर्दा यो खण्डमा यात्रा गर्न जोखिमपूर्ण बनेको छ।

सडकमाथिको ठूलो पहिरो र सडकमुनि म्याग्दी नदी भएको कारण पहिरो नियन्त्रणका लागि गरिएका प्रयासहरू असफल भएका छन्। सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान भने रोकथाम गरिएको थियो। अहिले पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ।

यो पहिरोका कारण म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजना, डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी र सिँचाइलगायतका विकास आयोजनाहरूमा पनि असर परेको छ।

जोखिमयुक्त सडकको दीर्घकालीन विकल्प खोज्न मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको छ। म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले भने, "फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको छ।"

उनले सङ्घीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल भइरहेको जानकारी दिए। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा दुई वर्षअघि गरिएको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण कार्यान्वयन हुन नसकेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ