विपद् व्यवस्थापनका लागि एकजुट हुन राजनीतिक दलहरूको अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
768
Shares
काठमाडौँ । निरन्तरको वर्षापछि मुलुकमा उत्पन्न बाढी, पहिरो र डुबान जस्ता विपद्को अवस्थामा उद्धार र राहत कार्यमा सक्रियता देखाउन प्रमुख राजनीतिक दलका नेताहरूले एकताबद्ध हुन अपिल गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारलाई 'युद्धस्तरमा समन्वय र नेतृत्व' गर्न आग्रह गरेका छन्। उनले राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक समाजसहित पार्टीपङ्क्तिलाई पनि विपद्का समयमा एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन्।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा रहेका जनताको उद्धार तथा आवश्यक सहायता उपलब्ध गराउन सरोकारवाला निकाय र पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षातबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रूपमा जुट्न राप्रपाका सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) ले पनि विपद्को सामनाका लागि सहयोगको आह्वान गरेको छ। पार्टीका उपमहासचिव प्रदीप यादवले अपिल जारी गर्दै सबै नेता कार्यकर्तालाई आ-आफ्नो क्षेत्रमा विपद् न्यूनीकरण तथा उद्धारका काममा लाग्न आग्रह गरेका छन्।