कामनपामा बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
1k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।
अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
महानगर प्रमुख वालेन्द्र शाह (बालेन) ले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चार वटा विद्यालयमा सारिएको जानकारी दिए ।
उनका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ ।
महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ ।
उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ ।
महानगरले कुनै समस्या परेमा १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।