arrow

पृथ्वी राजमार्गको धादिङ खण्डमा १६ स्थान पहिरोको उच्च जोखिममा, यात्रा नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
prithivi-rajmarga-tanahun-jam.jpg

मलेखु (धादिङ)। लगातारको वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको उच्च जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको आजको संयुक्त अनुगमनले राजधानी भित्रिने यी प्रमुख राजमार्गमा पहिरो र सडक भासिने गम्भीर खतरा रहेको पहिचान गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले हाल राजमार्गमा यात्रा गर्न सकिने अवस्था नरहेकोले सबैलाई आ-आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरेका छन्। उनले पहिचान गरिएका जोखिमयुक्त स्थानहरूमध्ये सबैभन्दा बढी खतरा बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा रहेको बताए।

पहिरोको उच्च जोखिम रहेका अन्य १६ स्थानहरूमा झ्याप्ले खोला, सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभान (लेदो र पानी सडकमा आउने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर, र लाल्टिन बजार छन्।

विपद् व्यवस्थापन टोलीका अनुसार, अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेसँगै तत्काल पहिरो जाने खतरा छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए।

हाल पहिरोमा रोकिएका सवारीसाधनलाई भने पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाइएको छ। सडक विभागका प्राविधिक, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरणकार्य निरन्तर भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ