arrow

वर्षाको वितण्डा

भारी वर्षाको चेतावनीपछि गृह मन्त्रालयको आठ बुँदे निर्देशन, लामो दूरीका सवारी बन्द [भिडियो]

बागमती, मनोहरा खोलाको जलस्तर सतर्कता तह पार , हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास, कालिमाटी र बल्खु तरकारी बजार क्षेत्रमा डुबानको खतरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
ministry-home-affairs.jpg

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेपछि गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे कडा निर्देशन जारी गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले शनिबार अपराह्न प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

आगामी २४ घण्टासम्म निरन्तर वर्षाले गत वर्षकै जस्तै बाढी र डुबानको जोखिम निम्त्याउन सक्ने अनुमान छ। हाल बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर तीव्र रूपमा बढेको छ। ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको जलस्तर सतर्कता तह ३.५ मिटर पार गरी ३.५८ मिटर पुगेको छ। त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा जलस्तर सतर्कता तह ४.४ मिटर पार गरेको छ भने नख्खु खोलामा पनि जलस्तर तीव्र गतिमा बढिरहेको छ। यसले हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास, कालिमाटी र बल्खु तरकारी बजार क्षेत्रमा डुबानको खतरा उच्च बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गते लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णयको अनुगमन र निगरानी गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। राजमार्गमा रोकिएका सवारी साधनलाई मौसम र सडकको अवस्था हेरी गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न र यात्रुहरूका लागि खानपानको व्यवस्था मिलाउन स्थानीय तह तथा सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ।

मन्त्रालयले एम्बुलेन्सलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन प्राथमिकता दिने र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको जन्म केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, बाढी र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई स्थानीय पालिकासँग समन्वयमा नजिकका विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्न जोड दिएको छ। मौसमका कारण उडान स्थगित भएका यात्रुहरूका लागि यातायात व्यवसायीसँग समन्वय गरी परिवहनको व्यवस्था मिलाउन पनि भनिएको छ।

तत्काल हेलिकप्टर उद्धार आवश्यक भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ। जोखिमयुक्त जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध रहन र विपद् व्यवस्थापनको प्रगति विवरण नियमित रूपमा महाशाखामा पठाउन निर्देशन दिइएको छ। गृहमन्त्रालयले सबै पक्षलाई उच्च सतर्कता अपनाउन र विपद् न्यूनीकरणमा सक्रिय रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ