खोला किनाराबाट हाइड्रोपावरका उपकरण तत्काल हटाउन निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
1.3k
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टका उपकरण तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् ।
शनिबार आयोजित बैठकमा उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावरलगायत संरचनामा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरण सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।
‘देशका सुदूरपश्चिम र कर्णालीका भूभागबाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिंचाईका सञ्जाल, हाइड्रोपावरका संरचनामा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले काम गर्नुपर्छ,’ उनले भने, ‘खोला किनारातिर उपकरण छन् भने हटाउन पर्यो, प्रोजेक्टले सतर्कता अपनाउन पर्यो । ठूला-ठूला प्रोजेक्टले धेरै साधन/उपकरण राखिरहेका हुन्छन् ती उपकरण बगाउने, पहिरोले पुर्ने सम्भावना हुन्छ त्यसलाई सहि ठाउँमा राख्नुपर्यो ।’
उनले काठमाडौँवासीसहित नदी किनारामा बस्ने आम जनसमुदायलाई विशेष सर्तकता अपनाउन आग्रह गरेका छन् ।
मन्त्री घिसिङले सडकमा अलपत्र परेका व्यक्ति तथा सवारी साधनलाई उद्दार गर्न तुरुन्तै गर्न पनि निर्देशन दिए ।
‘सडकमा उद्दारको विषय धेरै छन् । तत्कालै उद्दार गर्नुपर्ने, उपकरण सञ्चालन गर्नुपर्ने ठाउँमा तत्कालै गर्नुपर्यो । बसहरू फसेका छन् भने त्यसलाई पास गर्नुपर्छ भने तुरुन्तै त्यसलाई बाटो खुलाएर अथवा के गरेर हुन्छ पास गर्नुपर्छ । सिँचाईका गेटहरू खोल्नुपर्ने हुन्छ’, उनले भने ।
उनले डिभिजन कार्यालयका कर्मचारी सम्पूर्णलाई तयारीरुपमा रहन निर्देशन दिएका छन् ।