बाढी, डुबान र पहिरोको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
975
Shares
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।
सम्भावित विपद्जन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्वीक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ ।
बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
यस्तै, विकास निर्माणसँग सम्बन्धित कार्यालयले आफूसँग रहेका डोजरलगायतका उपकरण र इन्धन ट्यांकर जस्ता उपकरण सुरक्षा निकायले राहत उद्वारका लागि खोजेको बखत उपलब्ध गराउने गरि तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ।
स्थानीय तहका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था र स्वयंसेवकलाई निरन्तर समन्वयमा रही उद्धार तथा राहतका पूर्वतयारीमा लाग्न प्रशासनले आग्रह गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई पनि आकस्मिक अवस्थामा तत्काल सहयोग र राहत वितरणमा जुट्न आह्वान गरिएको छ ।