arrow

त्रास अतिवृष्टिको

काठमाडौँ प्रशासनद्वारा रात्रिकालीन यात्रा नगर्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
ktm-cdo.jpg

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागबाट भारी वर्षा हुने जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको केही दिन रातको समयमा उपत्यका भित्रिने र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानबमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने सम्भावना छ। यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो र भू-क्षय जस्ता विपद्जन्य घटनाहरू घट्न सक्ने सम्भावना भएकाले उनले सबैलाई आ-आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन्।

उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गर्दै, "काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ,” भन्दै सूचना जारी गरेका छन्।

विभागले आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने र शनिवार तथा आइतबार बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ।

यसअघि नै ललितपुर प्रशासनले कान्ति लोकपथमा बिहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरेका छन्।

प्रशासनले विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ:

जिल्ला प्रहरी परिसर, काठमाडौँ: १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७

सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगल: ९८५१२७२०३५, ०१– ४४७१३३७

जिल्ला आपत्कालीन कार्य संचालन केन्द्र: ९८५१३६२९३७

भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित यात्राका लागि सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ