४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1k
Shares
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको समग्र भौतिक प्रगति ९० प्रतिशत पुगेको छ।
रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टका अनुसार, आयोजनाको सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ भने हाल विद्युत्गृहमा उपकरण जडानको काम थालिएको छ। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले दसैँको समयमा पनि ५०० जनाभन्दा बढी मजदुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए। जेपीसँगको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएर सन् २०२५ नोभेम्बर २७ सम्म रहेको छ।
जेपीले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो। कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो।
यस्तै, विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म रहेको छ।
आयोजना व्यवस्थापक विष्टले कार्ययोजनाअनुसार काम भएमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने विश्वास व्यक्त गरे।
आयोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।
यो आयोजना भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणामा इपिसी (इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट) प्रारुपमा सञ्चालन गरिएको हो।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लूप माध्यमबाट जोडिनेछ। यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेका छन्।