arrow

युरोपमा रुसी ड्रोनको त्रास : म्युनिख विमानस्थलमा देखिएपछि रोकिए उडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
india-first-indigenous-stealth-drone-make-in-india-startup-2025.jpg

काठमाडौँ। जर्मनीको म्युनिख अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोनहरू देखिएपछि उडान सेवाहरू तत्कालीन रूपमा रोकिएका छन्। यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिएको उड्डयन अवरोधको शृङ्खलामध्येको पछिल्लो भएको प्रहरीले बताएको छ।

विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार ड्रोन देखिएपछि बिहीबार राति म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू स्थगित गरिएका थिए, जसका कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन्।

त्यस्तै, अवतरणको क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टसहितका अन्य सहरहरूमा मोड्नुपरेको थियो। प्रभावित यात्रुहरूको असुविधा कम गर्न विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको छ। यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने निश्चित जानकारी दिइएको छैन।

बिहीबार साँझ करिब १९:३० जीएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि ड्रोन देखिएको थियो। यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए।

जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोज तथा अनुसन्धान कार्य प्रारम्भ गरेका छन्। यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएका छन्। यो घटना विश्वप्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सव को अन्तिम सप्ताहन्तअघि भएको हो, जसले सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

यो घटना युरोपका अन्य मुलुकहरूमा पनि दोहोरिएको छ। विशेषगरी कोपेनहेगन, ओस्लो र वार्सा का विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो। यसैकारण अहिले जर्मनी उच्च सतर्क अवस्थामा रहेको छ।

पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रूसलाई दोषारोपण गरेका छन्। यसैबीच, युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका प्रतिनिधिहरूले सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।

जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिँदै भने, “हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ। यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ। आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ