arrow

मौसम कहिले सुधारिन्छ ?

निर्धारित समयभन्दा ढिला बाहिरिने भयो यस वर्षको मनसुन, आजदेखि वर्षा बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
rain-always-sign.jpg

काठमाडौँ । नेपालमा यस वर्ष मनसुन निर्धारित सरदर मितिभन्दा केही समय ढिला बाहिरिने भएको छ। गत जेठ १५ गते नेपाल भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन उत्तरार्धमा पुगेर पनि पुनः सक्रिय भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (बिहीबार) रहे पनि मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण अहिले मौसम फेरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताएका छन्। उनले आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको जानकारी दिए।

वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए। त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन पूर्ण रूपमा बाहिरिने कुराको निर्धारण गर्ने उनले बताए।

यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएको थियो। जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिएको मनसुन असार ६ गतेदेखि भने देशभर फैलिएको थियो।

भारी वर्षाको सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ