भारी वर्षाको जोखिमले हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा रात्रिकालीन सवारी रोक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1k
Shares
बागमती। जल तथा मौसम विभागले मध्यमदेखि भारी वर्षाको चेतावनी जारी गरेपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) देखि तीन दिनसम्म हेटौँडा-काठमाडौँ जोड्ने दुई मुख्य सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै असोज १७ गतेदेखि असोज २० गतेसम्म (तीन दिन) सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको जानकारी दिए।
कान्तिलोकपथ बेलुका ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म र हेटौँडा-भैँसे-काठमाडौँ सडक बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म रोक लगाइएको छ ।
प्रजिअ श्रेष्ठले त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेका छन्।
प्रशासन कार्यालयले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई नियमित समन्वय र सम्पर्कमा रही सतर्क (Alert) रहन पनि अनुरोध गरिएको छ।