arrow

भारी वर्षाको चेतावनीपछि ललितपुर प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
lalitpur-map.png

ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमानसँगै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि ललितपुर प्रशासनले यो चेतावनी जारी गरेको हो।

प्रशासनले विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक र मकवानपुर लगायतका जिल्लामा विपद्को जोखिम बढ्ने चेतावनी दिएको छ। यी क्षेत्रमा साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने, साथै बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने प्रशासनको भनाइ छ।

जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ। विशेषगरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गहरूमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रशासनले संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ