भारी वर्षाको चेतावनीपछि किसानलाई विशेष सतर्कता अपनाउन अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
988
Shares
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने र भारी/अति भारी वर्षा हुने जानकारी दिएपछि नेपाल सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले यो बुलेटिन जारी गर्दै भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन किसानहरूलाई अनुरोध गरेको छ।
कृषि मौसमविद् रामेश्वर रिमालले किसानले विशेष ध्यान दिन सके बालिनाली जोगाउन सकिने भएकाले जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरेका छन्। बुलेटिनमा असोज १७ देखि १९ गतेसम्म मनसुन सक्रिय रहने समयमा तरकारी बाली, फलफूल बगैँचा र पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न जोड दिइएको छ। धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि धान नकाट्न र काटेको भए भित्र्याइहाल्न वा अग्लो ठाउँमा भण्डारण गर्न सुझाव दिइएको छ। साथै, तरकारी बालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न र यो अवधिमा विषादी छर्कने कार्य रोक्न पनि भनिएको छ। नदी र खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्न सक्ने भएकाले भण्डारणमा रहेका सामग्रीहरू सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने बुलेटिनमा उल्लेख छ।
पशुपालनतर्फ, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न र दानालाई सफा तथा ओभानो ठाउँमा भण्डारण गर्न अनुरोध गरिएको छ। भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन स्पष्ट पारिएको छ किनभने चिसो ठाउँमा भण्डारण भएको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ। यस्तो ढुसीले विष उत्पन्न भई पशु मर्न सक्ने र दीर्घकालीन रूपमा पशु तथा मानिसलाई क्यान्सर गराउन सक्ने चेतावनी दिइएको छ। मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, र पशुबस्तुमा पाचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा चनाखो भई अनुगमन गर्न भनिएको छ।
यसैगरी, कुखुराको खोर चिसो र हिलो भएको अवस्थामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक अनुगमन गर्न र परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन अनुरोध गरिएको छ। माछा पोखरीमा धमिलो पानी मिसिन नदिन निकासद्वारमा माछाको ‘साइज’ अनुसारको जाली राखी उचित व्यवस्था गर्न पनि भनिएको छ।
मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी दिएकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरेका छन्। किसानहरूलाई क्षतिबाट बच्न जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ।