दशैँमा विभागको चेतावनी: असोज २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट'!
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1.2k
Shares
काठमाडौँ। आज आजोस १६ गते बडादशैँको टिकाको दिन । जल तथा मौसम विज्ञान विभागले १८ देखि २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट' जारी गरेको छ ।
विभागले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा मनसुनी गतिविधि थप सक्रिय हुने सम्भावना रहेकाले यो चेतावनी जारी गरिएको हो।
विभागका अनुसार, उक्त न्यून चापीय प्रणाली भारतको ओडिसा हुँदै मध्य भारततर्फ सरिरहेको छ र यसको प्रभावले असोज १७ गतेदेखि २० गतेसम्म नेपालमा मनसुनी वायु प्रवेश गर्नेछ। यसले खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।
विशेषगरी, बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लाहरू भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूको बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र भई बहने स–साना नदीनालाहरूमा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।
नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ। विभागले वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनीकरणका लागि विभागले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आमसर्वसाधारणलाई पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न अपिल गरेको छ।