arrow

काठमाडौँ महानगरको आग्रह: डेंगी सङ्क्रमण कायमै, सचेत रहनुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
dengue--ji-ha.jpeg

काठमाडौँ। काठमाडौँ महानगरपालिका (कामपा) ले राजधानीमा डेंगी रोगको सङ्क्रमण कायमै रहेकाले नगरवासीलाई उच्च सचेत रहन आग्रह गरेको छ। डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम महानगरपालिकाले जोडतोडका साथ गरिरहेको स्पष्ट पारेको छ।

कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालका अनुसार, लामखुट्टे तथा लार्भा नष्ट गर्ने अभियानमा महानगरपालिकाले मातहतका सबै वडा, समुदायस्तरमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र स्थानीयवासीको समेत सहभागिता गराएको छ। गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेंगीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको उहाँले बताउनुभयो।

नेपालमा २०६१ सालदेखि डेंगीको समस्या देखिन थालेको थियो भने कामपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा यो सङ्क्रमण देखिएको थियो। सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामपाले जनाएको छ।

महानगरपालिकाका अनुसार कामनपाभित्र सन् २०२२ मा २ हजार ९ सय ७३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो। यस्तै, सन् २०२३ मा ६ सय ४३ जनामा, २०२४ मा २ हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २ सय ४८ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

डेंगी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्ने भएकाले नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ ध्यान दिई डेंगी सङ्क्रमणबाट जोगिन सबैमा अनुरोध गरिएको छ।

आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क रूपमा सञ्चालनमा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ