arrow

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन निर्बाध रूपमा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
Mugling-narayanghad.jpg

भरतपुर। बडादशैँको नवौँ दिन नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहानैदेखि कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। दशैँ सुरु भएपछि पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकमा आज भने सवारीसाधन निर्बाध रूपमा सञ्चालनमा छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हिजो र अस्ति (अष्टमी र नवमी) को तुलनामा आज सवारीसाधनको चाप कम रहेको छ।

दशैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मीहरू २४सै घण्टा खटिएका छन् र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन्।

मङ्गलबार साँझ ७:३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो। तर, पहिरो पन्छाएसँगै राति ८:४० बजेदेखि सडक पुनः सञ्चालनमा आएको थियो।

तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन्। गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल भने निकै कम रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ