ट्रम्पको दाबी - युद्ध अन्त्य गर्न इजरायल सहमत, हमास तयार नभए नेतान्याहूलाई पूर्ण समर्थन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
2.6k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्प प्रशासनले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएको बताएका छन्। ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यो जानकारी दिएका हुन्।
ट्रम्पले आफू 'मृत्यु र विनाशको अन्त्य गर्न' लागिपरेको दाबी गर्दै 'सम्पूर्ण क्षेत्रको लागि सुरक्षा, शान्ति र समृद्धिको नयाँ अध्याय शुरु गर्ने' समय आएको बताए। उनले योजनाको मुख्य शर्तहरूमध्ये एक हमासले स्वीकार गरेमा ७२ घण्टाभित्र बाँकी रहेका सबै बन्धकहरूलाई रिहा गर्न आवश्यक रहेको जानकारी दिए।
यसै सन्दर्भमा, उनले हमासलाई शान्ति प्रस्तावका सर्तहरू स्वीकार गर्न आह्वान गरे। ट्रम्पले चेतावनी दिँदै भने, यदि हमासले योजना स्वीकार गरेन भने संयुक्त राज्य अमेरिकाले इजरायललाई पूर्ण समर्थन प्रदान गर्नेछ। कतार र इजिप्टले हमासलाई ह्वाइट हाउसको यस योजनाका बारेमा जानकारी गराएका छन्।
इजरायली प्रधानमन्त्री नेतान्याहूले ट्रम्पको योजनाका लागि समर्थन व्यक्त गरे पनि गाजाको भविष्यको शासनका लागि एक शर्त राखेका छन्। उनले प्यालेस्टिनी प्राधिकरणले आमूल र वास्तविक रूपान्तरण बिना गाजाको भविष्यको शासनमा कुनै भूमिका खेल्न नसक्ने बताए।