जलेश्वर (महोत्तरी)। महोत्तरीको जलेश्वर कारागार बाट गत भदौ २४ गते जेनजीको आन्दोलनको मौका छोपी भागेका कैदीबन्दीहरूलाई कारागार प्रशासनले असोज २० गतेभित्र फर्किनका लागि मौका प्रदान गरेको छ।
कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई तोकिएको अवधिभित्र स्वेच्छाले फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताएका छन्।
जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा तोकिएको समयसीमाभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उल्लेख छ।
साथै, कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ।
गत भदौ २४ गते कारागारमा रहेका ४० जना भारतीयसहित सबै ५७६ जना कैदीबन्दी फरार भएका थिए। जेलर क्षेत्रीका अनुसार, आज बिहानसम्म (असोज १४ गते) तीमध्ये २६२ जना कैदीबन्दी कारागारमा फिर्ता आइसकेका छन्।