जेन-जीले जलाएको काँडाघारी प्रहरी प्रभागबाट पुनः सेवा, विधि छोडेर विध्वंस रोज्नु गलत : मेयर कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
1.1k
Shares
काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित प्रहरी प्रभागबाट पुनः सेवा शुरू भएको छ । जेन-जी आन्दोलनको क्रममा आगजनी भएको भवन विभिन्न टोल सुधार समिति, समाजसेवी, व्यवसायी, उद्योगीहरूको सहयोगमा ३५ लाख खर्च गरेर भवन सबलीकरण गरेर सञ्चालनमा ल्याइएको हो ।
पुनः सेवा शुरू भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले विधिलाई छोडेर विध्वंस रोज्नु गलत भएको बताए । सुरक्षा निकायमा आक्रमण गर्नु, राष्ट्रिय धरोहरहरू तहसनहस बनाउनु दुखद भएको उनको भनाइ छ ।
आक्रमणका बाबजुद काँडाघारी प्रहरी प्रभागको हातहतियार सुरक्षित राखेकोमा भने उनले खुशी व्यक्त गरे ।
कार्कीले देशको गौरव र विरासतका रूपमा रहेको सिंहदरबार पुनः निर्माणको लागि उपत्यका मेयर फोरमले ५ करोड सहयोग गरेको जानकारी गराए ।
नगरका वडाध्यक्षहरु अनिल थापा, भिमसेन थापा, हरीभक्त पुडासैनीका साथ स्थानीयहरू डोलनाथ पोखरेल, गयाप्रसाद उपाध्याय, भागिरथी पन्थ, लोकेन्द्र बस्नेत लगायतका सक्रियतामा प्रहरी प्रभाग सम्पन्न भएको हो ।