महोत्तरी। मिथिला क्षेत्रमा आज (आइतबार) दशैँ पर्वको महत्त्वपूर्ण विधि ‘बेलनौत’ गरिँदैछ। शारदीय नवरात्रको षष्ठी तिथिमा ‘बेलनौत’ गर्ने मैथिल परम्परा छ। यसपालि चौथी तिथि दुई दिन परेकाले १० दिनको नवरात्र भएको छ, जसकारण षष्ठी तिथिमा गरिने ‘बेलनौत’ विधि सातौँ दिनमा परेको हो।
‘बेलनौत’ विधिलाई माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाहरूको आँखा उघार्ने प्रयोजनका लागि आयोजना गरिन्छ। ‘नौत’ भनेको निमन्त्रणा गर्नु हो।
परम्पराअनुसार, दशहारा (बडादशैँ) मा माटोको देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्नका लागि बेल (फल) को भेट्नो प्रयोग गरिन्छ। यसका लागि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँधिन्छ। यही विधिलाई मैथिलमा ‘बेलनौत’ भनिन्छ।
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपिन्छ। पुरोहित ब्राह्मणले सोही फलको भेट्नोले प्रतिमाको आँखा कोट्याएर उघार्ने गर्छन्। शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गरेर आँखा उघारिएपछि माटोका देवी प्रतिमाहरू पूर्ण सजीव भएको मानिन्छ।
सप्तमीका दिन बाजागाजासाथ बेल टिप्न जाने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ। आँखा उघारिएपछि मात्र स्थापित गरिएका देवी प्रतिमाहरू सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छन्।
मिथिला क्षेत्रका अधिकांश बस्तीमा देवी प्रतिमा बनाइएका छन्। 'बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मैथिलहरू जुट्दै गर्दा पर्वको चहलपहल निकै बढेको छ। पर्व विशेषमा बनाइएका यी देवी प्रतिमाहरू विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिन्छ, जसलाई मिथिलामा ‘मूर्ति भसाउने’ भनिन्छ।