काठमाडौँ। प्रेमको प्रतीकका रूपमा विश्वभर परिचित ताजमहल भारतमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटन गन्तव्य बनेको छ।
सङ्घीय पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको भारत पर्यटन डाटा कम्पेन्डियम अनुसार, आर्थिक वर्ष २०२४–२५ मा यस स्मारकले ६९ लाख आगन्तुकलाई आकर्षित गरेको छ। यो सङ्ख्यामा ६२ लाख ६० हजार घरेलु पर्यटक र करिब ६ लाख ४५ विदेशी पर्यटक रहेका छन्।
सन् १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा निर्माण गरेको यो हात्तीको दाँत जस्तै सेतो सङ्गमर्मरको समाधि स्थल हो। यस कृतिमा सम्राट शाहजहाँको समाधि पनि अवस्थित छ।
पर्यटन मन्त्रालयका अनुसार ताजमहल एक दशकभन्दा बढी समयदेखि भारतमा सर्वाधिक राजस्व आर्जन गर्ने र सर्वाधिक भ्रमण हुने स्मारक बनेर आफ्नो अग्रस्थान कायम राख्दै आएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत ताजमहलले आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका कारण प्रत्येक वर्ष लाखौँ आगन्तुकलाई निरन्तर आकर्षित गरिरहेको छ।