तेह्रथुम । लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन शुरू गरेको छ । प्राकृतिक रुपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन शुरू गरेको हो ।
डिभिजन वन कार्यालय तेह्रथुममार्फत अनुदानमा प्राप्त १० लाख मूल्य बराबरका एक थान हरियो सिस्नोलाई सुकाउने डायर मेसिन, एक थान सुकाइएको सिस्नोलाई पिसेर पडाउर बनाउने मेसिन र एक थान प्याकेजिङ मेसिनमार्फत परीक्षण प्रशोधन सुरु गरिएको चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए।
लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार वसन्तपुर नजिकैको डाँडाखर्कबाट प्रशोधन शुरू गरिएको हो । उद्योग दर्ता प्रक्रिया अन्तिम चरणमा पुर्याएको समितिले प्रारम्भमा दैनिक दश केजीसम्म पाउडर उत्पादन गर्ने लक्ष्य राखेको छ । विभिन्न जिल्लाबाट सुपरमार्केटहरूले बिक्री-वितरणका लागि समितिलाई सम्पर्क गरिरहेका छन् ।
त्यसैले त्यतिले मात्र माग धान्न गाह्रो हुने हुँदा दैनिक ५० केजीसम्म पाउडर उत्पादन गर्नसक्ने क्षमताको मेसिनको समेत समितिले स्रोत खोजी गरिरहेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुखसमेत रहेका, सिस्नो प्रशोधन अभियन्ता श्रीप्रसाद कार्कीले बताए। अहिले हरियो सिस्नो प्रतिकेजी रु ८० मा खरिद गरेर प्रशोधन गरिँदै आएको छ ।
प्रशोधन गरेर एक केजी पाउडर तयार गर्न नौ केजी हरियो सिस्नो आवश्यक पर्ने र त्यसको मूल्य करिब ३५ सयसम्म पर्न आउने प्रशोधनमा खटिँदै आएका चैते सामुदायिक वन उपभोक्ता समितिका सहसचिव दीपेन्द्र बस्नेतले बताए।
विसं २०५२ मा स्थापना भएको चैते सामुदायिक वन उपभोक्ता समितिमा ३६० घरधुरी उपभोक्ता आबद्ध छन् । ३५४ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमध्ये एक हेक्टर क्षेत्रफलमा सिस्नु रोपणसमेत गरिएको छ ।
समितिका पदाधिकारी, सदस्य र उपभोक्ताहरूको श्रमदानबाट पात्ले, अल्लो र घरायसी जातका सिस्नो रोपण गरिएको हो ।
प्रशोधनका लागि हरियो सिस्नोको अभाव हुन नदिन साथै गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजार आउने सिस्नोका सौखिन पर्यटकलाई घारीमै सिस्नो देखाउन, स्वयं उनीहरूलाई टिपाउन र पकाएर खुवाउने समेत लक्ष्य रहेको उपभोक्ता समितिका सदस्य तथा सिस्नो प्रशोधन कार्यक्रम उपसमितिका सदस्य वीरेन्द्र बस्नेतले बताए।
बहुगुण भएको सिस्नोलाई पहिले-पहिले गरीब दुःखीले खाने जङ्गली सागका रूपमा लिने गरिन्थ्यो । तर, विस्तारै सिस्नोको उपयोगिता, महत्त्व र यसले मानव स्वास्थ्यमा पुर्याउने फाइदाबारे थाहा हुँदै गएपछि अहिले होमिस्टेदेखि तारे होटलसम्म सिस्नोको माग हुन थालेको छ ।
बाह्रै महिना पर्यटकीय चहलपहल भइरहने वसन्तपुर बजारका होटलमा पनि सिस्नोको दाल खोज्ने पर्यटक प्रशस्तै आउछन् ।
बाह्रैमास नपाइने सिस्नोको प्रशोधन थालिएपछि अब जुनसुकै ‘सिजन’ मा पनि पर्यटकलाई सिस्नो खुवाउन सकिने आशा पलाएको वसन्तपुरस्थित दार्जिलिङ होटलका प्रोप्राइटर वीरेन्द्र बस्नेतको भनाइ छ ।
प्रायः गरेर वस्तुभाउको चारोको रूपमा अधिक प्रयोग हुने सिस्नो स्थानीयस्तरमै प्रशोधन थालिँदा स्थानीय उत्साहित छन् ।
चैते सामुदायिक वनले सुरु गरेको सिस्नो प्रशोधन कार्यले व्यावसायिक चरणमा प्रवेश गरेसँगै सिस्नोबाट राम्रो आर्थिक उपार्जन गर्न सकिने स्थानीयको आशा छ ।
विशेष गरेर सेपिलो र चिस्याइलो पहाडी पाखा-भित्ता, वनजङ्गल र खोला-खोल्साहरूमा प्रशस्तै पाइने सिस्नो बहूउपयोगी वनस्पति हो ।
सिस्नो पोसिलो सागपातअन्तर्गत पर्छ भने सिस्नोमा औषधीय गुण हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने जानकारहरू बताउँछन् । रासस