काठमाडौं। नेपाल प्रहरीले विभिन्न पदमा गरी झन्डै १६ सय जना नयाँ भर्नाका लागि शुक्रबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले कुल १५ सय ९४ जना को लागि भर्ना खुला गरेको हो।
यो भर्नामा १५ सय ५३ जना प्रहरी जवान रहेका छन्। बाँकी पदहरूमा प्रहरी कार्यालय सहयोगी (हजाम ११ जना, कुचीकार १५ जना) र खेलाडी १५ जना का लागि दरखास्त आह्वान गरिएको छ।
प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रहरी कार्यालय सहयोगी (हजाम र कुचीकार) का लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएका केन्द्रहरूमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।
प्रहरी जवान, हजाम र कुचीकारका लागि दरखास्त फाराम सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयहरू र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरहरू मा बुझाउन सकिनेछ। यस्तै, खेलाडीको हकमा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज (काठमाडौं) मा बुझाउनुपर्नेछ।