करार कर्मचारीद्वारा चाडपर्व भत्ता माग गर्दै ज्ञापनपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1k
Shares
बाजुरा। जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरूले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले बिहीबार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई सो ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा नेपाल श्रम ऐन, ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ को दफा ८२ मा करार सेवाका कर्मचारीहरूलाई पनि चाडपर्व भत्ता पाउने हक स्पष्ट रहेको उल्लेख गरिएको छ। विगतका वर्षहरूमा भत्ता प्रदान गरिँदै आएको भए पनि चालु आर्थिक वर्षमा भने अहिलेसम्म उपलब्ध नगरिएको गुनासो कर्मचारीहरूको छ।
अस्पतालका कर्मचारी लेखराज पाण्डेले समान काम गर्ने स्थायी कर्मचारीहरूले पाउने सुविधा तत्काल करार सेवाका कर्मचारीहरूले पनि पाउनुपर्ने बताए। चाडपर्व भत्ता उपलब्ध नहुँदा कर्मचारीहरूमा निराशा, असमान व्यवहारको अनुभूति र अन्याय भएको उनको भनाइ छ।
कर्मचारीहरूले प्रदेश सरकारलाई तत्काल चाडपर्व भत्ता उपलब्ध गराएर कर्मचारीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले कर्मचारीहरूको माग सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।