ठगी मुद्दामा रेड नोटिस जारी भएकी महिला यूएईबाट पक्राउ गरी ल्याइयो नेपाल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1k
Shares
काठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
प्रवक्ता घिमिरेले दाहाल ठगी मुद्दामा रेड नोटिस जारी भएपछि फरार रहेको र उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नका लागि नेपाल फर्काइएको बताएका छन्। अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौँको अनुरोधमा गत चैत २१ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।