प्रदर्शनका क्रममा हराएका हतियार बुझाउन गृह मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1k
Shares
काठमाडौं। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायबाट हराएका हतियार र खरखजाना बुझाउन आग्रह गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, हराएका हातहतियार कहीँ कसैले फेला पारेमा यही असोज मसान्तभित्र नजिकको सुरक्षा निकायमा बुझाउन अनुरोध गरिएको छ। तोकिएको मितिभित्र हतियार बुझाएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ। तर, सो म्यादपछि कसैले ती हतियार राखेको पाइएमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ। सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।
आयोगलाई क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गर्ने, विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश दिइएको छ। प्रवक्ता काफ्लेका अनुसार, आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने, तर गैरकानुनी रूपमा भएका गतिविधिमा भने कानुनअनुसार कारबाही हुनेछ।