चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुईन खोलामा मंगलबार दिउँसो खसेको भीषण पहिरो बिहीबार राति करिब १० बजे पन्छाएर सकिएपछि सडक सञ्चालनमा आएको हो ।
पहिरो पूर्णरूपमा हटाएर यातायात आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक विभाग भरतपुरले जनाएको छ । सडक खुले पनि जामका रातभर घण्टौँसम्म सवारी चल्न सकेनन् । बिहानदेखि केही राहत भएको यात्रुहरुले बताएका छन् ।
सडक बन्द हुँदा दशैँको अवसरमा गन्तव्यमा हिंडेका यात्रु अलपत्र परेका थिए । कतिपय यात्रु भने वैकल्पिक सडकमार्फत गन्तव्यमा गएका थिए ।
यो सडकखण्ड बन्द हुँदा पृथ्वी राजमार्गमा सवारीको निकै चाप थियो भने घण्टौँ जामको समस्या भएको थियो ।
मुग्लिन-नारायणगढ सडक प्रयोग गर्ने सवारीले वैकल्पिक बाटोका लागि पृथ्वीराजमार्ग प्रयोग गरेपछि सवारी चाप परेको हो ।