arrow

प्यालेस्टिनी राज्यलाई मान्यता दिइएकोमा नेतान्याहुको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
israel-PM-benjamin-netanyahu.jpg

काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताहरूको आलोचना गरेका छन् ।

उनले वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने र शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्ने तयारी गरेका छन् ।

उनको टिप्पणी हालै फ्रान्सको नेतृत्वमा महासभाको साइडलाइनमा आयोजित विशेष शिखर सम्मेलनपछि आएको हो ।

उक्त सम्मेलनमा पश्चिमी सरकारहरूले झन्डै दुई वर्ष लामो गाजा युद्धको पृष्ठभूमिमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका थिए ।

“महासभामा म हाम्रो सत्य बोल्नेछु-इजरायली नागरिक, सैनिक र राष्ट्रको सत्य । म ती नेताहरूको निन्दा गर्नेछु, जसले हत्यारा, बलात्कारी र बालबालिकालाई जलाउनेहरूलाई इजरायलको हृदयमै राज्य दिन चाहन्छन् । यस्तो कहिल्यै हुनेछैन”, नेतान्याहुले बेन गुरियन विमानस्थलमा प्रस्थानअघि भने ।

बुधबार उनले बेलायत र फ्रान्ससहितका मान्यताहरूलाई ‘प्यालेस्टिनी आतङ्कवादप्रति केही नेताहरूको लाजमर्दो आत्मसमर्पण’ भनेका थिए र यसले इजरायललाई बाध्य नगर्ने बताएका थिए ।

वासिङ्टनमा ट्रम्पसँग चौथोपटक भेट गर्ने बताएका नेतान्याहुले युद्धका लक्ष्यहरूबारे ‘हाम्रा सबै बन्धकहरूलाई फिर्ता ल्याउन, हमासलाई पराजित गर्न र शान्तिको दायरा विस्तार गर्न’ छलफल गर्ने बताए ।

अमेरिकी दूत स्टिभ विटकफले ट्रम्पले अरब र इस्लामिक मुलुकहरूलाई ‘गाजासम्बन्धी २१-सूत्रीय शान्ति योजना’ प्रस्तुत गरेको बताए ।

उनले विस्तृत विवरण नदिए पनि उक्त योजना इजरायल र क्षेत्रीय छिमेकीहरूको चिन्तालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

“हामी आशावादी छौँ र निकट भविष्यमा कुनै सफलता घोषणा गर्न सक्नेछौँ”, उनले महासभाको साइडलाइनमा भने ।

यसैबीच, गाजामा इजरायली हवाई आक्रमणले बिहीबार कम्तीमा ११ जनाको ज्यान लिएको क्षेत्रीय नागरिक रक्षा प्रवक्ताले एएफपीलाई बताएका छन् ।

हालैका हप्ताहरूमा इजरायली सेनाले गाजा सहरमा भूमि आक्रमण तीव्र पारेपछि लाखौँ मानिसलाई विस्थापित हुन बाध्य बनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ