काठमाडौं। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनल खेल आज (बिहीबार) हुँदैछ। दोस्रो सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। यसअघि, पहिलो सेमिफाइनल खेल बंगलादेश र पाकिस्तानबीच दिउँसो ३:४५ बजे हुनेछ।
नेपाल समूह ए को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराए पनि दोस्रो खेलमा बंगलादेशसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले च्याम्पियनसिपमा हालसम्म दुई गोल गरेको छ भने चार गोल खाएको छ। नेपालका दुवै गोल समिर कुमारले गरेका हुन्।
भारतले सन् २०१९ यताका चारवटा संस्करण लगातार जितेको छ। नेपालले भने अहिलेसम्म चारपटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन।