झापा। अर्जुनधारा नगरपालिका-९ मा रहेको कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट जेन-जी आन्दोलनका क्रममा चारवटा दुर्लभ कछुवा चोरी भएका छन्। सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको यस केन्द्रमा दश प्रजातिका ६० वटा कछुवा संरक्षण गरिएको थियो। गत भदौ २४ गतेको प्रदर्शनमा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड भएपछि कछुवा चोरी भएका हुन्।
आन्दोलनकारीले प्रतिष्ठानको मुख्य कार्यालय, प्रहरी चौकी, क्यान्टिन, डुंगा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी र तोडफोड गरेका थिए। यसबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए। कछुवा संरक्षण केन्द्र बाहेक यहाँका नौका विहार, सहिद प्रतिमा, झोलुंगे पुल र फाउन्टेन पार्क पनि पर्यटकको प्रमुख आकर्षणको केन्द्र हुन्।
आन्दोलनपछि यहाँ पर्यटक प्रवेश बन्द गरिएको छ, जसका कारण प्रतिष्ठानबाहिर रहेका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि सुनसान छन्। व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचना पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको बताए।
सन् २०१२ मा उभयचर वैज्ञानिक डा. केआर खम्बुको प्रेरणामा स्थापित यो केन्द्रमा देशभरका जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि आउने गर्छन्। यहाँ स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवाहरूलाई संरक्षण गरिँदै आएको थियो।