जेन-जी विध्वंशमा घुसपैठ भन्ने दाबी गलत, यस्तो छ दुई तस्बिरको रहस्य
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
5.4k
Shares
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन भ्रष्टाचारको विरोध र नागरिकको अधिकार कुण्ठित गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध थियो । जेन-जीको विद्रोहमा सरकारले गरेको दमनका कारण आन्दोलन नै हिंसात्मक बन्यो र यसले बिर्सन नसकिने विध्वंश मच्चायो ।
ओली सरकारले जनतामाथि गरेको अन्याय र अत्याचारको पराकाष्ठाले जेन-जी आन्दोलन विध्वंसात्मक बन्यो । यसको मुख्य दोष ओली सरकारकै हो । ओलीकै कारण मुलुकले अनाहकमा कम्तीमा ७२ जनाको ज्यान गुमाउनु पर्यो ।
ओली र ओलीलाई साथ दिने नेताहरूकै कारणले मुलुकले आज यति ठूलो जनधनको क्षति बेहोर्नु पर्यो । र पनि उनीहरूमा चेत आउन सकेको छैन । उल्टै उनीहरू घुसपैठ भएको र नेपालको सार्वभौमसत्तामाथि विदेशीको हस्तक्षेप रहेको बताइरहेका छन् । यस्तो लाग्छ उनीहरू सक्किएलान् तर सच्चिदैनन् ।
उनीहरू आफू सुध्रिने फेरि कुनै संकेत दिएनन् । जेन–जीले कसैलाई मार्न खोजेको हैन । तर नेताहरूको यो फेरि वर्वरताले जेन–जीले ओहो गल्ती भएछ भनेर टाउको समाउने दिन पनि आउन सक्छ ।
सत्ता र शक्तिमा भएका बेलामा आँखा चिम्लेर जनतामाथि ताकी ताकी टाउको र छातीमा गोली हान्नेलाई मौका मिले जनताले पनि नहान्लान् भन्न सकिन्न ।
जनताको कुरा नसुनेकै कारण अशान्तिलाई भड्काउने काम भ्रष्ट सरकारले नै गरेको हो । भ्रष्टाचार भनेको छन्छनी गनेर खाने पैसामात्र हैन । ओली सरकारले त जनमानसमाथि खेल्ने भ्रष्ट नीति नै ल्यायो । सरकार आफ्नो कर्तव्यबाट पन्छिनु पनि भ्रष्टाचार नै हो ।
सामाजिक सञ्जालबाट जेन–जीहरूले आफ्ना आवाज सरकारसम्म पुर्याउन खोजे । ओलीले उनीहरूको आवाजलाई नजरअन्दाज गरे । सामाजिक सञ्जालको प्रयोग गरेर उनीहरूले आन्दोलनको योजना बुने । त्यसलाई नै बन्द गरेर ओलीले आफू सफल प्रधानमन्त्री भएको दाबी गरे ।
त्यतिमात्र होइन उनले भदौ २३ गते दिउँसो एकै क्षणमा १९ जनाको ज्यान लिँदासमेत कुनै ग्लानिबोध नगरेका ओलीले २३ गते साँझ बसेको मन्त्रिपरिषदको बैठकमा आफूलाई सशक्त प्रधानमन्त्री भएको भन्दै सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिने अठोट गरिरहे ।
उनले उल्टै जेन–जी आन्दोलनमा घुसपैठ भएर यसरी आन्दोलन भड्कियो भने । आफ्नो घर जल्दा पनि घुसपैठ भने । सिंहदरबार जल्दा पनि घुसपैठ नै भने ।
घुसपैठ नै भयो रे । कुनै विदेशी आएर यो तहसनहस पारेको त हैन । पारेको त नेपालीले नै हो । सत्ताको रसास्वादन गर्ने अनि कहिल्यै पनि देश विकास र जनताका काम नगर्ने अवसरवादी अधिकांशका घर जले । यसबाट बुझ्नु पर्ने थियो आफूहरू सच्चिनु पर्नेछ । तर यस्तो लाग्छ सक्किएलान् सच्चिदैनन् ।
खासमा केपी ओलीको दम्भले देश जल्यो र अझै पनि अरुलाई आरोप लगाएर उन्मुक्ति लिन खोजिरहेका छन् । त्यसैले विदेशी हस्तक्षेपले विध्वंश मच्चिएको भनेका छन् । यिनले भनेर जनताले मानिदिने भए गोली पनि विदेशी नै आएर भनेकै हुन् ।
एमालेका केही नेताले माथिबाट मोबाइलबाट तस्बिर खिच्नेलाई पनि विदेशीको इशारामा हानिएको गोली भनेर प्रचार गरेको पाइयो । घुसपैठ भनियो । विदेशको फुटेज जोडेर गोली हानेको प्रचारसमेत गरियो ।
खासमा त्यो मोबाइलबाट खिचिएको आन्दोलनको तस्बिर थियो ।
त्यतिमात्र हैन कमाण्डो पहिरनमा देखिएका प्रदर्शनकारीलाई पनि विदेशी घुसपैठ भनियो । ती युवा पनि नेपाली नै थिए । उनी 'हामी नेपाल' नामक संस्थाका स्वयंसेवक थिए ।
उनले त्यो पोशाक नेपाली सेनाबाट पाएका थिए । उनले सुरक्षाकर्मीले जस्तो बडी प्रोटेक्सन ज्याकेटसमेत लगाएका थिए । कालो टोपी र कालो चस्मा लगाएका उनले कालै कपडाले मुखसमेत ढाकेका थिए । हातमा वाकीटकी समेत थियो । प्रहरीको अनुसन्धानमा ती युवक २१ वर्षीय जेनिश महर्जन भएको खुलेको छ । हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले महर्जन आफ्नै संस्थाको स्वयंसेवक भएको पुष्टि गरे ।
उनका अनुसार प्रदर्शनको पहिलो दिन हामी नेपालले ४० जना स्वयंसेवक परिचालन गरेको थियो । गुरुङका अनुसार हामी नेपालले जाजरकोटमा भूकम्प जाँदा नेपाली सेना र नेपाल प्रहरीसँग नजिक भएर काम गरेको थियो ।
गुरुङका अनुसार महर्जनले यस्तो पोशाक कहाँ पाइन्छ भनेर सेनालाई सोधेका रहेछन् । सेनाले तिमीलाई हो भने हामी दिन्छौं भनेर गिफ्ट गरेको पोशाक रहेछ । उनी अरु बेलामा पनि त्यही पोशाक लगाएर हिँड्दा रहेछन् ।
गुरुङका अनुसार जेन-जी प्रदर्शनका क्रममा मेडिकल टिम र एम्बुलेन्सको समन्वय गर्न तीन वटा वाकीटकी प्रयोग गरिएको थियो । एउटा वाकीटकी महर्जन, अर्को मेडिकल टिम र अर्को एम्बुलेन्सको टिमले बोकेको थियो । वाकीटकी बोक्नुको उद्देश्य घाइतेलाई उद्धार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्याउने मात्र रहेको गुरुङले मिडियामा जानकारी दिएका छन् ।
यही पोशाकलाई बहाना बनाएर ओली कम्पनीले घुसपैठ भन्न भ्यायो । तस्बिर खिच्नुलाई लुकीलुकी गोली हानेको भन्न भ्यायो । जेसुकै होस् भदौ २३ र २४ को जिम्मा ओलीकै भएको अधिकांशको भनाइ छ । छानबिन हुँदा पनि उनीमाथि हुनेनै छ ।