मुग्लिन-नारायणगढ सडकमा पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
887
Shares
काठमाडौं। मंगलबार दिउँसो करिब ५ बजे तुइन खोला नजिकै खसेको ठूलो पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहानैदेखि पहिरो हटाउने काम सुरु भए पनि दिनभर जसो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, "पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।"
पहिरोले दुईतर्फी नै सडक आवागमन बन्द हुँदा सवारी चालक र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। अहिले त्रिभुवन राजपथ (नौबिसे-हेटौंडा), कान्ति राजमार्ग (सातदोबाटो-भैरव मन्दिर-बगुवा-लेनडाँडा-हेटौंडा), कालीगण्डकी कोरिडोर (गैंडाकोट-पाल्पा रामपुर-भिमाद-तनहुँ), धादिङ (फिर्केखोला-धादिङबेसी-सल्यानटार)-गोर्खा (आरुघाट-आबुखैरेनी), र बुटवल-पोखरा सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै छ।