वीरगञ्ज नाकाबाट सवारी साधन आयातमा उत्साहजनक वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
936
Shares
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्य बराबरका सवारी साधन र पार्टपुर्जा आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ७५ करोड रुपैयाँले बढी हो। गत वर्ष ५ अर्ब २५ करोड रुपैयाँका सवारी साधन आयात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार सवारी साधनको आयातमा आएको यो वृद्धिसँगै राजस्व सङ्कलन पनि बढेको छ। गत वर्षको सोही अवधिमा ४ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आवको दुई महिनामा ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख रुपैयाँ मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन्। गत वर्षको तुलनामा यो सङ्ख्या कम भए पनि समग्र आयात भने बढेको छ।
यस्तै, २ अर्ब ७९ करोड रुपैयाँ बराबरका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्, जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। यसका साथै, ६६ करोड ४३ लाख रुपैयाँ मूल्यका ३१८ वटा बस र ट्रकका चेसिस पनि आयात भएका छन्।