arrow

इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु भएपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
yaman-isreal-atack.jpg

काठमाडा । न्ययोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको शुरूवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ ।

समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी सानास्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल-यमनका कार्यालय भवनलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त घटनामा ३१ जना पत्रकारको मृत्यु हुनुका साथै कम्तीमा २२ जना घाइते भएका थिए ।

२६ सेप्टेम्बरमा प्रधान सम्पादक नासेर अल-खद्रीले भनेका छन्, “हाम्रो समाचार कक्षमा बेलुकी करिब ४ः४५ बजे प्रहार गरिएको थियो, जब सम्पूर्ण स्टाफ साप्ताहिक अंक प्रकाशनको तयारीमा व्यस्त थिए । यो पत्रकारमाथिको अभूतपूर्व नरसंहार हो, जुन क्रूर र नाइन्साफीपूर्ण छ ।”

सीपीजेका तथ्याङ्कअनुसार, यो घटनामा पत्रकारको मृत्यु २००९ मा फिलिपिन्सको म्यागुइन्दानाओमा भएको नरसंहारपछि सबैभन्दा ठूलो हो । उक्त घटनामा ३२ जना पत्रकारको मृत्यु भएको थियो ।

इजरायलले भने आफ्ना प्रहार हौथी समूहको जनसम्पर्क विभागसहितका सैन्य लक्ष्यमा गरिएको दाबी गरेको छ । तर सीपीजेले इजरायलले गाजा, लेबनान र इरानमा जस्तै पत्रकार र सैन्य लक्ष्यबीच भेद नगरी आक्रमण गर्ने गरेको र पत्रकारलाई आतङ्कवादी भनेर अन्यायपूर्ण आरोप लगाउने गरेको आरोप लगाएको छ ।

गत वर्ष अक्टोबरमा इजरायल-हमास युद्ध पुनः शुरु भएपछि हौथी विद्रोहीले इजरायलसम्बन्धी जहाजलाई रातो सागर र अदन खाडीमा आक्रमण गर्ने तथा क्षेप्यास्त्र र ड्रोनमार्फत इजरायललाई निशाना बनाउने गरेका छन् । त्यसको जवाफमा इजरायलले यमनका हौथी नियन्त्रणमा रहेका क्षेत्रमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ