यस वर्ष कागबेनीमा तीर्थालुको सङ्ख्यामा भारी गिरावट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
1.2k
Shares
मुस्ताङ। यस वर्ष दिवङ्गत पितृको उद्धारका लागि प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाममा तीर्थालुको आगमनमा भारी गिरावट आएको छ। दसैंअघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरे पनि देशमा उत्पन्न विषम परिस्थितिका कारण यसपटक भक्तजनको सङ्ख्या ८० प्रतिशतले घटेको हो।
दामोदरकुण्ड र गण्डकी नदीको सङ्गमस्थलमा रहेको कागबेनीधाममा पितृलाई खुसी राख्न र पिण्डदान, सिदादान तथा तर्पण दिन धार्मिक तीर्थालुहरू आउने गर्छन्। हिन्दू शास्त्रअनुसार, यहाँ श्राद्ध गर्नाले पितृहरू खुसी हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।
गत वर्षको औँसी तिथिमा एकै दिन २० हजारभन्दा बढी तीर्थालुले कागबेनीमा श्राद्ध गरेका थिए। तर, यस वर्ष जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, औँसीको अघिल्लो दिन शनिबार सडकमार्ग हुँदै जम्मा ४,०११ जना मात्र तीर्थालु मुस्ताङ भित्रिएका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा ८० प्रतिशतले कम हो।
प्रहरी निरीक्षक विशाल खत्रीका अनुसार, सोह्रश्राद्धको अन्तिम दिनसम्म सडकमार्ग हुँदै जम्मा ९,०५२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका छन्। त्यसैगरी, सार्क राष्ट्रबाट २,२१६ जना विदेशी पर्यटक पनि यस अवधिमा यहाँ आएका थिए।
कागबेनीका पुजारी ईश्वर रेग्मीले यस वर्ष विगतको तुलनामा औँसीमा नुहाउन आउने तीर्थालुको सङ्ख्या एकदमै कम रहेको र रौनक घटेको बताए।