काठमाडौं। नेपाल प्रहरीका अनुसार, आज (आइतबार) पनि देशका विभिन्न सात स्थानमा सडक अवरुद्ध भएका छन्। निरन्तरको वर्षा र पहिरोका कारण यातायात सेवामा बाधा पुगेको हो।
जाजरकोट–डोल्पा खण्ड जाजरकोटको नलगाड नगरपालिका-११, भिरकुनामा सुख्खा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, म्याग्दीको बेनी नगरपालिका-४, घुमाउने भिरमा लेदोसहितको पहिरो खस्दा बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
चितवनको इच्छाकामना गाउँपालिका-५, तुइन खोलामा दुई दिनअघिदेखि खसेको पहिरोले नारायणगढ–मुग्लिन खण्ड अवरुद्ध छ। पटक-पटक पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको छ। बाढीले रसुवास्थित नेपाल-चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याएपछि सवारी आवागमन बन्द भएको छ। यस्तै, रुकुमपश्चिमको भेरी करिडोर र भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको छ।
यसैबीच, मनसुन सक्रिय भएकाले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखेर बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। अर्को सूचना नआएसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म भाडाका सवारीसाधनलाई रोक लगाइएको छ। यस अवधिमा निजी सवारीसाधन भने सञ्चालनमा रहने प्रहरीले जनाएको छ।